वीरगंज , असार ५ —
प्रतिनिधिसभा र राष्ट्रियसभाको शुक्रबारको बैठकबाट सरकारले ल्याएका चार वटा अध्यादेश स्वीकृत भएका छन्। यससँगै ती अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउने बाटो खुलेको छ।
सरकारले सङ्घीय संसद्को चालु अधिवेशन सुरु हुनुअघि आठ वटा अध्यादेश जारी गरेको थियो। ती अध्यादेश वैशाख २८ गते दुवै सदनमा पेश गरिएका थिए।
शुक्रबारको बैठकबाट सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश स्वीकृत भएका हुन्।
राष्ट्रियसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व नभए पनि दुवै सदनबाट अध्यादेश अनुमोदन भएपछि अब सरकारले अध्यादेश प्रतिस्थापनका लागि विधेयक अघि बढाउन सक्ने भएको छ।






