जानकी मन्दिरमा विशेष योग कार्यक्रम

1200x150_1200x150-01.jpg (1)

जनकपुरधाम, ५ असार । १२औँ अन्तर्राष्ट्रिय योग दिवस २०२६ को पूर्वसन्ध्यामा जनकपुरधामस्थित ऐतिहासिक तथा पवित्र श्री जानकी मन्दिरको प्राङ्गणमा विशेष योग कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । भारतको महावाणिज्य दूतावास, वीरगन्जद्वारा जनकपुरधाम उप-महानगरपालिका र श्री जानकी मन्दिर व्यवस्थापनको सहकार्यमा जुन १९ (शुक्रबार) का दिन सो कार्यक्रमको आयोजना गरिएको हो ।

यस वर्षको अन्तर्राष्ट्रिय योग दिवस “स्वस्थ आयुका लागि योग” (Yoga for Healthy Aging) भन्ने मूल नारा (थीम) सहित मनाइँदै छ । महावाणिज्य दूतावासले आफ्नो कन्सुलर क्षेत्र भित्र आयोजना गरिरहेको योग उत्सवहरूको शृङ्खलामा यो पाँचौँ कार्यक्रम हो ।

कार्यक्रममा मधेश प्रदेशका माननीय मुख्यमन्त्री कृष्ण प्रसाद यादव मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यस्तै, विशिष्ट अतिथिका रूपमा मधेश प्रदेश सभाका सभामुख राम आशिष यादव र जनकपुरधाम उप-महानगरपालिकाका मेयर मनोज कुमार साहको उपस्थिति रहेको थाहा भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले श्री जानकी मन्दिर जस्तो पवित्र धार्मिक स्थलमा योग कार्यक्रम आयोजना गरेकोमा भारतीय महावाणिज्य दूतावासको कदमको उच्च प्रशंसा गर्नुभयो । योगको नियमित अभ्यासले शारीरिक, मानसिक र आध्यात्मिक रूपमा अत्यधिक फाइदा पुग्ने उल्लेख गर्दै उहाँले सम्पूर्ण नागरिकलाई योगलाई आफ्नो दैनिक जीवनको हिस्सा बनाउन विशेष आग्रह गर्नुभयो ।

यस विशेष योग शिविरमा स्थानीय बासिन्दा, विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी, योग साधक र सरकारी अधिकारीहरू सहित विभिन्न पृष्ठभूमिका ६०० भन्दा बढी सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले स्वास्थ्य, सद्भाव र समग्र कल्याणका लागि योगको कालातीत अभ्यासलाई एकसाथ अपनाएका थिए ।

सो अवसरमा बोल्दै महावाणिज्य दूत देवी सहाय मीनाले दीर्घकालीन स्वास्थ्य, मानसिक एकाग्रता र आन्तरिक शान्ति सुनिश्चित गर्न नियमित योग अनिवार्य रहेको बताउनुभयो । उहाँले यस वर्षको नारा अनुसार स्वस्थ वृद्धावस्था र सामूहिक हितका लागि योगलाई जीवनशैलीकै रूपमा अङ्गीकार गर्न सबै सहभागीहरूसँग आग्रह गर्नुभयो ।

कार्यक्रमको समापन प्रमाणित प्रशिक्षकहरूको मार्गदर्शनमा सामूहिक योग सत्र सञ्चालन गरेर गरिएको थियो, जसले “एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” (Yoga for One Earth, One Health) भन्ने विश्वव्यापी सन्देशलाई पुनः पुष्टि गरेको छ ।

सम्बन्धित पोस्टहरुः