जीराभवानीको १७औं गाउँसभामा ४० करोड ८३ लाख बजेट प्रस्तुत

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ५ असार ।
पर्सा जिल्लाको जीराभवानी गाउँपालिकाको १७ औं गाउँँसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि ४० करोड ८३ लाख रुपियाँँ बराबरको बजेट तथा नीति–कार्यक्रम प्रस्तुत गरिएको छ ।
शुक्रवार जीराभवानी गापाको सभाहलमा आयोजित गाउँँसभामा आर्थिक वर्ष २०८३–०८४ का नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी आवश्यक सुझावसहित अनुमोदन गरिएको छ।
गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा बजेट प्रस्तुत गरिएको हो।
गाउँसभामा प्रस्तुत बजेट अनुसार शिक्षा क्षेत्र विकासका लागि २ करोड रुपियाँँ, स्वास्थ्य क्षेत्र विकासका लागि १ करोड रुपियाँ, कृषि क्षेत्र विकासका लागि १ करोड ५० लाख रुपियाँ, भौतिक पुर्वाधार बिकासका लागि ५ करोड रुपियाँँ तथा सामाजिक क्षेत्र विकासका लागि १ करोड ५० लाख रुपियाँँ बजेट विनियोजन गरिएको छ।
त्यसैगरी विभिन्न शीर्षक अन्तर्गत अध्यक्ष स्तरिय योजनाको लागि ६० लाख रुपियाँँ, उपाध्यक्ष कार्यक्रमका लागि ६० लाख रुपियाँँ, वडास्तरीय योजनाका लागि ६० लाखको दरले तथा कार्यपालिकास्तरीय योजनाका लागि २० लाखको दरले बजेट प्रस्ताव गरिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत गिरीले दिए ।
गाउँँसभालाई सम्बोधन गर्दै अध्यक्ष अनोज चौधरीले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार गरिएको बताए।उनले गाउँँपालिकाको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा जनअपेक्षा सम्बोधनमा केन्द्रित भएर आगामी वर्षका कार्यक्रम सञ्चालन गरिने जानकारी गराए ।
उपाध्यक्ष रेखा चौधरीले महिला, बालबालिका, किसान तथा विपन्न समुदायको जीवनस्तर सुधारमा बजेटले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन।
प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले बजेटको प्रभावकारी कार्यान्वयन, पारदर्शिता तथा सुशासनलाई प्राथमिकतामा राखी योजनाहरू समयमै सम्पन्न गरिने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित पोस्टहरुः