अमेरिका, असार ६ —
फिफा विश्वकप फुटबलमा आयोजक अमेरिका अष्ट्रेलियालाई २–० गोलले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। अन्तिम १६ मा स्थान बनाउने घरेलु टोलीमध्ये अमेरिका दोस्रो टोली बनेको छ। यसअघि अर्को आयोजक मेक्सिकोले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको थियो।
सिएटल स्टेडियममा गएराति भएको खेलमा अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गरे भने अर्को गोल अष्ट्रेलियाको आत्मघाती गोलका रूपमा प्राप्त भयो।
खेलको ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसले बल क्लियर गर्ने क्रममा आफ्नै गोलपोस्टमा गोल गरेपछि अमेरिकाले अग्रता बनाएको थियो। त्यसपछि ४३औँ मिनेटमा एलेक्स फ्रीम्यानले अर्को गोल थप्दै अमेरिकाको जित पक्का गरे। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन।
लगातार दोस्रो जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले दुई खेलबाट ६ अंक जोडेको छ। अमेरिका पहिलो खेलमा पाराग्वेमाथि विजयी भएको थियो। लगातार दुई खेल जितेसँगै आयोजक अमेरिका विश्वकपको नकआउट चरणमा पुगेको हो।






