बारा ६ असार । कर्तव्य ज्यान मुद्दामा संलग्न भई २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ।
जिल्ला बारा साविक मोतिसर गा.वि.स. वडा नं. ९ (हाल कलैया उप-महानगरपालिका वडा नं. १८ मोतिसर टोल) बस्ने वर्ष ४० को शितल प्रसाद चौरसियाको हत्यामा संलग्न सोही ठाउँका श्याम बाबु प्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको हो।
घटनाको पृष्ठभूमि: प्रहरीका अनुसार मिति २०६२ साल जेठ १३ गते बिहान अन्दाजी १०:०० बजेको समयमा नारायणी उप-क्षेत्रीय अस्पताल वीरगञ्जबाट ड्युटी सकेर घर फर्किने क्रममा जग्गा सम्बन्धी पुरानो रिसइवीका कारण शितल प्रसाद चौरसियाको हत्या भएको थियो। साविक प्रसौनी गा.वि.स. वडा नं. ५ (हाल प्रसौनी गा.पा. वडा नं. १) स्थित दुधौरा खोलाको बगरमा प्रतिवादीहरूले उनको घाँटी (कण्ठ) काटी कर्तव्य गरी हत्या गरेका थिए।
घटना पश्चात् फरार रहेका दुखी राउत बरैका छोरा, हाल वर्ष ४८ का प्रतिवादी श्याम बाबु प्रसाद चौरसियालाई प्रहरीले खोजतलासका क्रममा मिति २०८३ साल जेठ १३ गते पक्राउ गरेको थियो।अदालतको आदेश: पक्राउ परेका अभियुक्तमाथि आवश्यक अनुसन्धान पश्चात बारा जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतको मिति २०८३ साल जेठ ५ गतेको आदेशले अभियुक्त श्याम बाबु प्रसाद चौरसियालाई पुर्पक्षका लागि थुनामा (जेल) पठाइएको जानकारी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले दिनुभएको छ।






