वीरगंज, असार ६ —
वीरगंज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलमले महानगरका ३२ वटै वडाका वडा सदस्यहरूसँग अन्तरक्रिया गरेका छन्। शनिबार महानगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा महानगरको समग्र विकास, जनहित, विकास निर्माण, सुशासन तथा प्रभावकारी सेवा प्रवाहका विषयमा विस्तृत छलफल गरिएको हो।
अन्तरक्रियामा सहभागी वडा सदस्यहरूले आ–आफ्नो वडामा रहेका आवश्यकता, समस्या तथा विकासका प्राथमिकताबारे धारणा राख्दै कार्यवाहक मेयर आलमसमक्ष विभिन्न सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रममा महानगरभित्र सञ्चालन भइरहेका विकास निर्माणका आयोजनालाई थप प्रभावकारी बनाउने, जनगुनासोको समयमै सम्बोधन गर्ने तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने विषयमा विशेष छलफल भएको बताइएको छ।
वडा सदस्यहरूले स्थानीय तहमा देखिएका समस्या समाधान, पूर्वाधार विकास, सरसफाइ, सडक निर्माण तथा आधारभूत सेवाको पहुँच विस्तारका विषयमा कार्यवाहक मेयरको ध्यानाकर्षण गराएका थिए।
वडा सदस्यहरूको गुनासा र सुझाव सुनेपछि कार्यवाहक मेयर आलमले महानगरको समग्र विकास, सुशासन तथा जनसेवालाई अझ प्रभावकारी र नागरिकमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
उनले जनप्रतिनिधिहरूसँगको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउँदै नागरिकको अपेक्षाअनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताए। साथै विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका योजनालाई प्राथमिकतामा राखिने उनले उल्लेख गरे।





