महोत्तरी ०६ असार । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको पाँचौँ साधारणसभा शनिबार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, श्रम तथा यातायात मन्त्री शारदा देवी थापा, विभिन्न जिल्लाका महासंघ अध्यक्ष, सञ्चारकर्मी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतोले पत्रकारिता क्षेत्र लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारहरू स्वतन्त्र, निष्पक्ष र निर्भीक रूपमा काम गर्न सक्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताए। पत्रकारले सुरक्षाको अनुभूति गर्न नसके अभिव्यक्ति स्वतन्त्रता कमजोर हुने र त्यसले लोकतान्त्रिक प्रणालीमै असर पार्ने उनको भनाइ थियो।
“पत्रकार स्वतन्त्र हुनुपर्छ, पत्रकारले सुरक्षाको अनुभूति गर्नुपर्छ। जब पत्रकार सुरक्षित र स्वतन्त्र हुन्छन्, तब मात्र लोकतन्त्रको वास्तविक अभ्यास सम्भव हुन्छ,” मन्त्री महतोले भने।
उनले सञ्चार क्षेत्रलाई सुदृढ बनाउन प्रदेश सरकार सकारात्मक रहेको बताउँदै पत्रकारका पेशागत समस्या समाधान, सञ्चार पूर्वाधार विकास तथा सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। सञ्चार क्षेत्रको विकासमा सरकार र पत्रकार समुदायबीच सहकार्य आवश्यक रहेको उनको धारणा थियो।
कार्यक्रममा बोल्दै श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले समाजमा समानता, न्याय र सुशासन स्थापना गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन्। पत्रकारिताले जनताको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउने भएकाले पत्रकारहरूको क्षमता विकास र पेशागत संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने उनले बताइन्।
“मधेश प्रदेशमा चुनौती धेरै छन्, समस्या पनि थुप्रै छन्। सीमित स्रोतसाधनका बीच जनअपेक्षाअनुसार काम गर्नुपर्ने अवस्था छ। बजेट सीमित भए पनि प्रदेश सरकार आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन,” मन्त्री थापाले भनिन्।
उनले विकास निर्माण, रोजगार सिर्जना, यातायात व्यवस्थापन तथा सामाजिक क्षेत्रका समस्याहरू समाधान गर्न प्रदेश सरकार निरन्तर प्रयासरत रहेको जानकारी दिइन्।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले लोकतान्त्रिक समाजमा स्वतन्त्र पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै पत्रकारितालाई तथ्यपरक, विश्वसनीय र उत्तरदायी बनाउन आवश्यक रहेको धारणा राखे। उनले सञ्चार क्षेत्रमा बढ्दो चुनौती, डिजिटल माध्यमको विस्तार तथा बदलिँदो सूचना प्रवाहको अवस्थाबीच पत्रकारहरूले व्यावसायिक मर्यादा, आचारसंहिता र तथ्यमा आधारित पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए।
उनले पत्रकारको पेशागत सुरक्षा, श्रम अधिकार तथा सामाजिक सुरक्षाको सुनिश्चितताका लागि महासंघ निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै पत्रकार एकता र संस्थागत सुदृढीकरण आजको आवश्यकता रहेको बताए।
साधारणसभाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले पत्रकारिता क्षेत्र अनेक चुनौतीका बीच आफ्नो दायित्व निर्वाह गरिरहेको उल्लेख गर्दै पत्रकारहरूको हकहित, पेशागत सुरक्षा र क्षमता विकासका लागि महासंघ निरन्तर क्रियाशील रहेको बताए।
उनले बदलिँदो सञ्चार परिवेशमा पत्रकारहरूले तथ्यमा आधारित, जनउत्तरदायी र जनपक्षीय पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। साथै पत्रकारको सुरक्षा, सामाजिक सुरक्षा, श्रम अधिकार र पेशागत सम्मान सुनिश्चित गर्न सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको जानकारी दिए।






