संघीयता सुदृढीकरण बारे पत्रकारहरुलाई निजगढमा तालिम

1200x150_1200x150-01.jpg (1)

निजगढ, असार ७—

आम सञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा संघीयता सुदृढीकरणसम्बन्धी समाचार लेखन विषयक दुईदिने आवासीय तालिम बाराको निजगढमा सञ्चालन भइरहेको छ। फेडरलिज्म एन्ड लोकलाइजेसन, ललितपुरको प्राविधिक सहयोगमा आयोजित तालिममा पर्सा, रौतहट र सर्लाहीका गरी ५० भन्दा बढी पत्रकारको सहभागिता रहेको छ।

तालिममा संघीयता विज्ञहरु डा. खिमलाल देवकोटा, प्रह्लाद लामिछाने र डा. विनय मिश्रलगायतले प्रशिक्षण दिइरहेका छन्। प्रशिक्षकहरूले संघीयता नेपालजस्तो सानो मुलुकका लागि बोझ भएको भन्ने भाष्य निर्माण भइरहेका बेला यसको सकारात्मक पक्षबारे जनमानसलाई सचेत गराउनुका साथै कार्यान्वयनमा देखिएका कमजोरी सुधारका लागि राज्य, राज्य संयन्त्र र नागरिकलाई सचेत गराउने जिम्मेवारी पत्रकारको पनि रहेको बताएका छन्।

प्रशिक्षकहरूले संघीयता विविधतामा एकताको अवधारणा भएको उल्लेख गर्दै अधिकार माथिबाट तलसम्म हस्तान्तरण हुनुपर्नेमा जोड दिएका छन्। बजेट बाँडफाँट तथा तीन तहका सरकारबीच आवश्यक समन्वयको अभावका कारण संघीयताप्रति नकारात्मक धारणा बढ्दै गएको उनीहरूको भनाइ छ।

तालिममा विश्वका विकसित संघीय मुलुकहरूको अभ्यास, नेपालको संघीय संरचनाको अवस्था तथा संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको भूमिकाबारे पनि छलफल भइरहेको आयोजकले जनाएको छ। प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षतामा तालिम शनिबार एक समारोहका बीच समुद्घाटन भएको प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत सन्तोष साहले जनाए ।

सम्बन्धित पोस्टहरुः