चितवन, असार ९ —
भरतपुर महानगरपालिका–१५ अतिथि पार्टी प्यालेस नजिक ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ।
भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा भरतपुर महानगरपालिका–२६ दिव्यनगरका २२ वर्षीय अशोक भण्डारी र लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्दै आएका १९ वर्षीय राजिव गुरुङ गम्भीर घाइते भएका थिए। उनीहरूको उपचारका क्रममा बिहान २ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ निवासी २७ वर्षीय बाबुलाल थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







