वीरगंज , असार ९ —
विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘जी’को खेलमा इजिप्टले न्यूजिल्याण्डलाई ३–१ ले हराउँदै शीर्षस्थानमा उक्लिएको छ। पहिलो हाफमा पछि परेको इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन गोल गरेको हो।
खेलको पहिलो हाफमा फिन सम्र्यानको हेडर गोलमार्फत न्यूजिल्याण्डले अग्रता लिएको थियो। तर दोस्रो हाफमा इजिप्टले खेलमा पकड जमाउँदै मोस्ताफा जिकोको गोलबाट बराबरी गर्यो। त्यसपछि मोहम्मद सलाहले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
खेलको ८२औँ मिनेटमा ट्रेजेग्यूटले तेस्रो गोल थपेपछि इजिप्टले ३–१ को सहज जित दर्ता गर्यो। अन्तिम समयमा न्यूजिल्याण्डले फर्कने प्रयास गरे पनि इजिप्टका गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण थप गोल गर्न सकेन।
यो जितसँगै इजिप्ट समूह ‘जी’को शीर्षस्थानमा पुगेको छ। विश्वकपमा लामो समयपछि प्राप्त यो महत्वपूर्ण जितलाई इजिप्टका लागि विशेष उपलब्धिका रूपमा हेरिएको छ।






