वीरगंज, ८ असार । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ छातापिप्रास्थित वीरगंज–पथलैया सडक खण्डमा सोमवार बेलुकी भएको भीषण मोटरसाइकल दुर्घटनामा परी पैदलयात्रीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा रहेको मोटरसाइकलले सडक पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुर्ई जना र पैदलयात्री गरी गम्भीर घाइते भएका तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा नामथर नखुलेका पैदलयात्री बाटो काट्ने क्रममा ठक्कर खाएका अन्दाजी ३५ वर्षीय पुरूष व्यक्तिको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बेलुकी १८ः१५ बजे डाक्टरहरूले ईसीजी गरी मृत घोषणा गरेका थिए ।
काठमाडौंको टोखा नगरपालिका घर भई मोटरसाइकलमा सवार रहेका अन्दाजी २० वर्षीय डिजेन जोसीको वीरगंजकै वयोधा अस्पतालमा बेलुकी १८ः०० बजे मृत्यु भएको छ भने बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया बस्ने प्रभु अधिकारीका २० वर्षीय छोरा सभ्य अधिकारीको पनि वयोधा अस्पतालमा उपचारकै क्रममा बेलुकी १८ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमवार बेलुकी अन्दाजी १७ः४० बजेको समयमा जितपुरबाट वीरगंज जाँदै गरेको बा ६८ प ७४९१ नम्बरको मोटरसाइकलले छातापिप्रामा पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेका पैदलयात्रीलाई जोडदार ठक्कर दिएको थियो । ठक्कर लगतै मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार दुवै जना र पैदलयात्री सडकमै पछारिएर गम्भीर घाइते भएका थिए ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (प्रवनानि) उमेश निरौलाको कमाण्डमा र अस्थायी ट्राफिक प्रहरी पोष्ट जितपुरको टोलीसहित ४ जनाको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
प्रहरी टोलीले रक्ताम्मे अवस्थामा रहेका तिनै जना घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि वीरगंजतर्पm पठाएको थियो । दुर्घटनामा परेको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण सडक अवरोध नभएको र यातायात पूर्ण रूपमा सुचारू रहेको प्रहरीले जनाएको छ ।






