बारा, ८ असार । बारा प्रहरीले सिम्रौनगढबाट अवैध रूपमा चोरी निकासी गर्न लागिएको ठूलो परिमाणको खर्बुजाको बिउ र ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेका अनुसार असार ७ गते राति अन्दाजी २०ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी गस्ती टोलीले सिम्रौनगढ नगरपालिका वडा नं. ६ पावर हाउस चोकस्थित सडक खण्डमा चेकिङ गर्ने क्रममा सिम्रौनगढबाट महोत्तरी जाँदै गरेको ना ४ ख ८३४१ नम्बरको ट्रकभित्र लुकाईछिपाई लोड गरिएको अवस्थामा अन्दाजी १२ हजार ५६० केजी (३१४ बोरा) खर्बुजाको बिउ बरामद गरिएको छ, जसको बजार मूल्य रू. २२ लाख उन्नाइस हजार दुर्ई सय तेत्तीस अनुमान गरिएको छ । उक्त खर्बुजाको बिउ अवैध रूपमा चोरी निकासी गर्न लागिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
अवैध बिउ ओसारपसारमा प्रयोग गरिएको ट्रक (अनुमानित मूल्य रू. ३५,००,०००।–) र ट्रक चालक बाराको परवानीपुर गाउँपालिका वडा नं. ३ बस्ने ३१ वर्षीय प्रवेज आलमलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको खर्बुजाको बिउ र ट्रकसहित जम्मा रू. ५७,१९,२३३।– बराबरको सम्पत्ति आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






