साउथजोन विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ९ —

वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीको अध्यक्षता तथा वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा हेड गर्ल, हेड ब्वाय, हाउस क्याप्टेन, खेलकुद संयोजक र अनुशासन प्रमुखसहित विभिन्न विद्यार्थी प्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा विद्यालयको सक्रियताको प्रशंसा गर्दै नवनिर्वाचित विद्यार्थी नेतृत्वलाई जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा प्याब्सनका पदाधिकारी, जनप्रतिनिधि, सामाजिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले विद्यार्थीहरूको नेतृत्व विकास र व्यक्तित्व निर्माणमा विद्यालयले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

सो अवसरमा शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो। विद्यालयले शैक्षिक सत्र २०८३ का लागि अनलाइन मतदान प्रणालीमार्फत विद्यार्थी नेतृत्व चयन गरेको जनाएको छ।

प्रिन्सिपल सरोजप्रसाद चौधरीले विद्यालयले प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुका साथै विभिन्न समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिए। कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका प्रमिला श्रेष्ठले राखेकी थिइन् भने सञ्चालन सहायक प्रिन्सिपल अशोक संग्रौलाले गरेका थिए।

सम्बन्धित पोस्टहरुः