नगर प्रमुख चौहान एकलौटी नगरसभा गर्न खोजेकाले विवाद उत्पन्न

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १० —

पर्साको पोखरिया नगरपालिकाको ११औँ नगरसभा विवादका बीच सम्पन्न गर्ने प्रयास गरिएको भन्दै आलोचना भएको छ । उपप्रमुख रुबी ठाकुर पक्षका नगर परिषद् सदस्यहरूले नगर प्रमुख प्रद्युमन चौहानले पर्याप्त सहमति र छलफलविना एकलौटी ढंगले नगरसभा अघि बढाउन खोजेपछि विवाद उत्पन्न भएको बताएका छन्।

उपप्रमुख पक्षका अनुसार नगरसभामा सहभागी हुनुपर्ने धेरै परिषद् सदस्य अनुपस्थित रहेका अवस्थामा पनि नगर प्रमुख चौहानले सभा सञ्चालन गर्न खोजेका थिए। नगरसभामा उपप्रमुख ठाकुर पक्षका अधिकांश परिषद् सदस्य अनुपस्थित रहेका छन्।

असन्तुष्ट पक्षले नगर प्रमुखले जनप्रतिनिधिहरूबीच समन्वय र सहकार्यको वातावरण निर्माण गर्नुको सट्टा पेलेर निर्णय लाद्ने शैली अपनाएको आरोप लगाएका छन्। उनीहरूका अनुसार बजेट तथा नीति–कार्यक्रमजस्ता महत्वपूर्ण विषयमा व्यापक छलफल हुनुपर्ने भए पनि त्यसतर्फ ध्यान नदिइएको गुनासो छ।

पोखरिया नगरपालिकामा यसअघि पनि नगर प्रमुख चौहानमाथि एकलौटी ढंगले नगरसभा सञ्चालन गरेको आरोप लागेको थियो। गत वर्षको नगरसभामा समेत पर्याप्त परामर्श र सहमति बिना निर्णय गरिएको भन्दै आलोचना भएको थियो।

नगरसभालाई लिएर जनप्रतिनिधिबीच बढ्दो असन्तुष्टि र विवादले स्थानीय सरकारभित्रको आन्तरिक मतभेद पुनः सतहमा आएको देखिएको छ। यद्यपि यस विषयमा नगर प्रमुख चौहानको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

भर्खरै

सम्बन्धित पोस्टहरुः