वीरगंज, असार १० —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज केन्द्रीय सदस्य पदका लागि मतदान हुँदैछ। चितवनको भरतपुरमा जारी महाधिवेशनमा मतदान बेलुकी साढे ८ बजेपछि शुरू गर्ने तयारी गरिएको छ।
९९ केन्द्रीय सदस्य पदका लागि ३८४ जनाको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरिएको छ। दाबी–विरोध र उम्मेदवारी फिर्तापछि अन्तिम नामावली प्रकाशन गरिने पार्टीले जनाएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदानका लागि ८० वटा विद्युतीय मतदान मेसिन तयारी अवस्थामा छन्। विदेशमा रहेका प्रतिनिधिले मोबाइलमार्फत मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
चार हजारभन्दा बढी प्रतिनिधि सहभागी महाधिवेशनमा पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्। पहिलो चरणको मतदानपछि भोलि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन हुने कार्यतालिका छ।
दोस्रो चरणमा २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्री पदका लागि निर्वाचन हुने रास्वपाले जनाएको छ।






