वीरगंज, असार १० —
ब्राजिलका स्टार फरवार्ड नेयमार चोटमुक्त हुँदै फिफा विश्वकप फुटबलअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा मैदान उत्रने भएका छन्।
३४ वर्षीय नेयमारले चोटका कारण समूह ‘सी’ अन्तर्गत मोरक्को र हैटीविरुद्धका अघिल्ला दुई खेल गुमाएका थिए। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमारले स्कटल्यान्डविरुद्धको खेल पूरा ९० मिनेट खेल्ने बताएका छन्।
ब्राजिल र स्कटल्यान्डबीचको खेल भोलि बिहान पौने ४ बजे अमेरिकाको मियामीस्थित हार्ड रक रंगशालामा हुनेछ। ब्राजिलले यसअघि हैटीलाई ३–० ले पराजित गरेको थियो भने मोरक्कोसँग १–१ को बराबरी खेलेको थियो।
ब्राजिलका लागि सर्वाधिक ७९ अन्तर्राष्ट्रिय गोल गरेका नेयमार गत मे ७ मा सान्तोस क्लबबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेलिरहेका उनी यसै साता पूर्ण प्रशिक्षणमा फर्किएका हुन्।
विश्वकप इतिहासमा ब्राजिल र स्कटल्यान्डबीच चार पटक भेट हुँदा ब्राजिलले तीन खेल जितेको छ भने एक खेल गोलरहित बराबरीमा सकिएको छ। नेयमारको पुनरागमनसँगै ब्राजिल समूहको शीर्ष स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।






