वीरगंज, १० असार । जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय समन्वयात्मक बैठकमा मुस्लिम समुदायको पर्व मोहरमलाई शान्तिपूर्ण तथा सद्भाव कायम राखेर मनाउन ९ बुँदे आचारसंहिता जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बुधवार बसेको बैठकमा मोहरम पर्वलाई अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न ९ बुँदे आचारसंहिता समेत जारी गरेको हो ।
आचारसंहिताअनुसार ¥याली तथा शोभायात्रा प्रशासनले तोकेको रूट, मिति र समयअनुसार मात्र सञ्चालन गर्नुपर्ने, कुनै पनि प्रकारका हातहतियार तथा अशान्ति फैलाउने खालका उच्च ध्वनियुक्त उपकरण प्रयोग गर्न नपाइने तथा अन्य धार्मिक समुदायको भावना र सामाजिक सद्भावमा असर पर्ने गतिविधि गर्न निषेध गरिएको छ।
प्रत्येक ¥याली वा झाँकीका जिम्मेवार व्यक्तिले आफ्नो विवरण कम्तीमा एक दिनअघि प्रशासनमा बुझाउनुपर्ने, धार्मिक तथा सामाजिक सहीष्णुतामा असर पर्ने सामग्रीको प्रयोग गर्न नपाइने तथा सामाजिक सञ्जालमार्पmत भ्रम, वैमनस्यता वा उत्तेजना फैलाउने सामग्री प्रचार–प्रसार नगर्न आग्रह गरिएको छ।
प्रजिअ दाहालले मुस्लिम समुदायका प्रतिनिधिहरूलाई आयोजक संस्थाको आधिकारिक पत्र बिहीवारभित्र जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन निर्देशन दिएका छन। उनले आधिकारिक पत्र प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर मोहरम पर्वको अन्तिम रूट तथा विस्तृत सुरक्षा योजना तय गरिने जानकारी दिए।
हिन्दु धार्मिक अगुवा रञ्जीत शाह, , मुस्लिम समुदायका तर्फबाट महबुब अली (शेरू आलम), हिन्दु पत्रकार संघका अध्यक्ष राजन रौनियार, धार्मिक अगुवा मौलाना अली अकबर मदनी, कृष्ण कुमार साह, ओम बाबु यादव, एस्मुहीन अन्सारी, अनवर हुसेन, शाशिकपुर मियाँँलगायत विभिन्न समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।






