वीरगंज, असार ११ —
बाराको आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहामा विषालु सर्पले टोक्दा एक किशोर गम्भीर बिरामी भएका छन्।
मंगलबार राति करिब १० बजे स्थानीय भैरो यादवका १५ वर्षीय छोरा मनोज यादवले घरभित्र रहेको दराज खोल्ने क्रममा दराजभित्र लुकेर बसेको विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ।
सर्पदंशबाट गम्भीर घाइते भएका मनोजको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनाबारे अस्पतालबाट सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट प्रहरी नायब निरीक्षक अजयबहादुर क्षेत्रीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







