बारासहित ११ जिल्लामा बर्ड फ्लुको प्रकोप फैलियो

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ११ —

देशका ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण फैलिएको छ। संक्रमण नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ।

विभागका अनुसार बारा, महोत्तरी, झापा, सुनसरी, मोरङ, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लु संक्रमण पुष्टि भएको छ। संक्रमण नियन्त्रणका क्रममा ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको छ।

प्रयोगशाला परीक्षणमा एच–फाइभ एन–वान, एच–नाइन एन–टु तथा न्युक्यासल रोगका भाइरस सक्रिय रहेको पाइएको विभागले जनाएको छ। यद्यपि, कोशी प्रदेशमा पछिल्लो एक महिनायता संक्रमण नियन्त्रणमा आएको दाबी गरिएको छ।

संक्रमण थप फैलिन नदिन सरकारले स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग समन्वय गरी संक्रमित फार्मका कुखुरा नष्ट गर्ने, परीक्षणको दायरा बढाउने, सीमा नाकामा निगरानी कडा पार्ने तथा कुखुरा, अण्डा र दानाको ओसारपसारमा नियन्त्रण गर्ने काम गरिरहेको छ।

अवैध रूपमा हुने पशुपन्छीको बिक्री–वितरण रोक्न सुरक्षा निकायसँगको सहकार्यमा विशेष अभियानसमेत सञ्चालन गरिएको विभागले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः