वीरगंज, असार ११ —
चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा हिन्दु धर्मप्रतिको आस्थामा आँच पुग्ने खालको गतिविधि भएको भन्दै राष्ट्रिय बजरंग दल पर्सा र नेपाल विश्व हिन्दु महासंघ पर्साले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
दुवै संगठनले बिहीबार प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै महाधिवेशनस्थलमा वीरगंज महानगरपालिका–१२ मुर्लीका महबुब आलमसहित केही व्यक्तिले कावँरमा भगवान् श्रीराम र लक्ष्मणसँगै रवि लामिछाने तथा बालेन शाहको तस्वीर राखेर प्रदर्शन गरेको विषयप्रति आपत्ति जनाएका हुन्।
ज्ञापनपत्रमा उक्त गतिविधिले धार्मिक भावनामा चोट पुर्याएको उल्लेख गर्दै कुनै पनि राजनीतिक व्यक्तिको महिमामण्डनका लागि हिन्दु धर्मका आराध्य देवताको नाम र प्रतीकको प्रयोग गर्नु निन्दनीय रहेको जनाइएको छ।
संगठनहरूले धार्मिक आस्थाको सम्मान गर्न, यस्ता गतिविधि तत्काल रोक्न तथा सम्बन्धित व्यक्तिहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्। साथै भविष्यमा यस्ता गतिविधि दोहोरिए कानुनी प्रक्रियासहित कडा विरोधमा उत्रने चेतावनी पनि दिएका छन्।
ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पठाइएको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पर्ने विषयलाई गम्भीरतापूर्वक लिइने तथा कानुनबमोजिम आवश्यक कदम चालिने बताएका छन्।






