भेनेजुएला भूकम्प: १६४ जनाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

भेनेजुएला, ११ असार – एक शताब्दीभन्दा बढी समयमा भेनेजुएलामा गएका दुर्ई ठूला विनाशकारी भूकम्पका कारण बिहीवार दिउसोसम्म कम्तीमा १६४ जनाको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ। भूकम्पमा परी राजधानी र नजिकैका धेरै भवनहरूमा व्यापक क्षति पुगेको छ। बिहीवार स्थानीय बासिन्दाहरू आफ्नै क्षमतामा हराएका आफन्तहरूको खोजीमा व्यस्त देखिएका पाइनथ्यो।
बुधवार साँझ राजधानीको पश्चिमी क्षेत्रमा ७.२ म्याग्निच्युड र ७.५ म्याग्निच्युडको भूकम्प भेनेजुएलाको सन् १९०० यताको सबैभन्दा शक्तिशाली भूकम्प भएको भूगर्भ सर्वेक्षण अधिकारीहरूले जनाएका छन्।
उद्धारकर्मी र स्थानीयहरूले भूकम्पपछि भत्किएका अपार्टमेन्टहरूमा अँध्यारोमा माथि चढेर बाँचेकाहरूको खोजी गर्न र भग्नावशेषमुनि पुरिएकाहरूलाई निकाल्ने प्रयास गरिरहेको देखिन्थ्यो।
फ्रान्स, स्पेन र अमेरिकाले तत्काल उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधवार साँझ राजधानीको पश्चिमी क्षेत्रमा म्याग्निच्युड ७.२ र ७.५ को भूकम्प गएको थियो।
उद्धार र खोजी कार्य जारी रहेको र भूकम्पले ठूलो क्षति पु–याएको अधिकारीहरूले बताएका छन्। क्षतिको प्रकृति हेर्दा मृतक संख्या अहिलेकोभन्दा निकै बढ्नेअनुमान गरिएको उनीहरूले बताएका छन्।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले कम्तीमा १६४ जनाको मृत्यु भएको र ९७० भन्दा बढी घाइते भएको बताउनुभएको छ। भूकम्पका कारण राजधानी काराकासको उत्तरमा रहेको ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ।
ला गुएराको काटिया ला मार शहरमा आफ्नो परिवार पुरिएको भत्किएको भवनको अगाडि उभिएका ४९ वर्षीय ल्यारी रोहासले एएफपीसँग भन्नुभयो, “अहिले हामीसँग केही पनि छैन। न त शक्ति छ, न साहस नै। उद्धारका लागि भग्नावशेषमा पस्ने कल्पना पनि गर्न सकिँदैन। भूकम्पपछि लगातार पराकम्पहरू गइरहेका छन्।”
तटीय शहरमा विद्युत आपूर्ति बन्द भएका छन् र धेरै बासिन्दाहरू सडकमा रात बिताएका वा आफन्तहरूको खोजीमा व्यस्त रहेका सञ्चारकर्मीहरूले बताएका छन्।
बुधवार गएको ७.५ म्याग्निच्युडको भूकम्प सन् १९०० अक्टोबर २९ मा समुद्रमा गएको ७.७ म्याग्निच्युडको भूकम्पपछि गएको भेनेजुएलाको सबैभन्दा शक्तिशाली भूकम्प हो।
–उपकरण र जनशक्तिको अभावमा उद्धारकार्य प्रभावित–
बुधवारको भूकम्पपछि केही आवासीय भवनहरूमा ठूला चिरा परेका र पर्खालहरू भत्किएका थिए भने दर्जनौं भवन पूरै ध्वस्त भएका थिए।
“त्यहाँ मानिसहरू जीवित छन् तर कसैले उनीहरूलाई बचाउन आइरहेको छैन”, एउटी महिलाले आफ्नी छोरीको उद्धारमा खटेका स्थानीयमार्फत खबर पर्खिरहँदा भग्नावशेषको एक छेउमा सञ्चारकर्मीसँगको प्रतिक्रियामा बताउनुभयो, “छोरी १२ तले भवन भत्किएर बनेको भग्नावशेषमा पुरिएकी छन्।”
फ्रान्सले ८५ जना उद्धारकर्मी पठाउने र स्पेनले ५४ जना सैनिक उद्धार तथा खोजी टोली पठाउने घोषणा गरेको छ। चीन, भारत, ब्राजील र अमेरिका लगायतका देशहरूले पनि सहयोगको प्रस्ताव गरेका छन्।
“अमेरिकाले तत्काल खोज तथा उद्धार टोली, चिकित्सा सामग्री र मानवीय सहायता भेनेजुएला पठाउने तयारी गरिसकेको छ,” अमेरिकी विदेशमन्त्री मार्काे रूबियोले बिहीवार भन्नुभयो।
मोरोन तटीय शहरबाट २१ किलोमिटर पश्चिममा केन्द्रविन्दु बनाएर ७.२ पहिलो भूकम्प बुधवार साँझ १०ः०४ बजे गएको थियो। एक मिनेटभित्रै त्यसको ४५ किलोमिटर टाढा ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण विभागले जनाएको छ।
गृहमन्त्री डियोस्डाडो काबेल्लोले सुरक्षाको लागि धेरै भवनहरूमा ग्याँस आपूर्ति बन्द गरिएको र जनतालाई घरबाट बाहिर निस्कन आग्रह गर्नुभएको छ।
“हाम्रा केही संरचनाहरू क्षतिग्रस्त छन् र हामी ग्याँससम्बन्धी कुनै दुर्घटना हुनबाट रोक्न ग्याँसको आपूर्तिलाई बन्द गरेका छौँ,” उहाँले भन्नुभयो। काराकास नजिकै रहेको माइक्वेटिया अन्तर्राष्ट्रिय विमानस्थल पूर्वाधारमा ‘गम्भीर क्षति’ भएकाले बन्द गरिएको छ। सामाजिक सञ्जालहरूमा विमानस्थलको क्षतिग्रस्त तस्बिरहरू सार्वजनिक भएका छन्। (रासस/एएफपी)ः

भर्खरै

सम्बन्धित पोस्टहरुः