वीरगंज, असार १२ —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज पार्टीका पदाधिकारी चयनका लागि मतदान हुँदैछ। चितवनको भरतपुरमा जारी महाधिवेशनमा उपसभापति, महिला उपसभापति, महामन्त्री तथा दुई सहमहामन्त्री पदका लागि निर्वाचन हुन लागेको हो।
उपसभापतिमा स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन्। महिला उपसभापति पदका लागि भने सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।
महामन्त्री पदका लागि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य चुनावी मैदानमा छन्। उम्मेदवार जगदीश खरेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
यस्तै सहमहामन्त्री पदका लागि रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्रीबीच प्रतिस्पर्धा हुनेछ। महिला सहमहामन्त्री पदका लागि जुली यादव, जमुना कुमारी शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।
तीन दिनमा सम्पन्न गर्ने कार्यतालिकासहित सुरु भएको रास्वपाको प्रथम महाधिवेशन निर्वाचन प्रक्रिया लम्बिँदा छैटौं दिनसम्म पुगेको छ। पदाधिकारी चयनपछि महाधिवेशन समापन हुने तयारी गरिएको छ।







