वीरगंज, असार १२ —
देशभरका ४६० गाउँपालिकामध्ये ४४६ वटा गाउँपालिकाले असार १० भित्र आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन्। गाउँपालिका राष्ट्रिय महासंघका अनुसार १४ वटा गाउँपालिकाले भने तोकिएको समयसीमाभित्र बजेट पेश गर्न सकेनन्।
मधेश प्रदेशका तीन गाउँपालिकामध्ये पर्साका धोबिनी र छिपहरमाई गाउँपालिका पनि समयमै गाउँसभा गर्न असफल भएका छन्। बजेट बाँडफाँट र विकास योजनाको प्राथमिकता निर्धारणमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा गाउँसभा प्रभावित भएको बताइएको छ।
पर्साका १४ स्थानीय तहमध्ये वीरगंज महानगरपालिकासहित १२ स्थानीय तहले भने समयमै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै सभा सम्पन्न गरेका छन्।
महासंघका अनुसार बजेट ल्याउन नसक्नुका कारणमा तयारी नपुग्नु, प्रमुख प्रशासकीय अधिकृतको सरुवा, अध्यक्षको अस्वस्थता तथा बजेट निर्माणमा सहमति नजुट्नु रहेका छन्। समयमै बजेट पेश गर्न नसकेका गाउँपालिकाले केही दिनभित्रै बजेट ल्याउने प्रतिबद्धता जनाएका छन्।
स्थानीय तहले तोकिएको समयभित्र बजेट नल्याउँदा कार्यसम्पादन मूल्यांकन र अनुदानमा समेत असर पर्न सक्ने बताइएको छ।







