वीरगंज, असार १२ —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदमा अब ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएपछि अन्तिम प्रतिस्पर्धीको सूची सार्वजनिक गरिएको हो।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार महामन्त्री पदका लागि प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य चुनावी मैदानमा छन्। यसअघि जगदीश खरेलले पनि उम्मेदवारी फिर्ता लिएका थिए।
महिला उपसभापतिमा सोविता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुनेछ भने खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। सहमहामन्त्री पदमा भने कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएकाले सबै उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।







