वीरगंज, असार १३ —
भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ भने तीन हजार ३६० जना घाइते भएका छन्। विपद् निकायलाई उद्धृत गर्दै बीबीसीले प्रभावित क्षेत्रमा उद्धारकर्मीले अझै जीवित व्यक्तिको खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ।
बुधबार केही सेकेन्डको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले राजधानी काराकाससहित देशका विभिन्न क्षेत्र प्रभावित भएका थिए। दोस्रो भूकम्प ७.५ म्याग्निच्युडको मापन गरिएको थियो, जसलाई एक शताब्दी यताकै सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ।
घाइतेहरूको अस्थायी शिविरमा उपचार भइरहेको छ भने अन्तर्राष्ट्रिय उद्धार टोलीहरू पनि प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्। भूकम्प आउनुअघि धेरै एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो मोबाइलमा भूकम्पसम्बन्धी चेतावनी सूचना प्राप्त गरेको बताएका छन्। गुगलको एन्ड्रोइड र एप्पलको आईओएस दुवैमा सरकारी विपद् चेतावनी सूचना प्राप्त गर्ने सुविधा उपलब्ध छ।






