हेभी सवारी ट्रायललाई लिएर वीरगंज यातायात कार्यालयमा विवाद

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १३ —

यातायात व्यवस्था कार्यालय, वीरगंजमा केही साताअघि सञ्चालन गरिएको हेभी सवारी तथा ट्याक्टरको प्रयोगात्मक (ट्रायल) परीक्षालाई लिएर कार्यालयभित्र विवाद चर्किएको छ। ट्रायलबाट उठेको भनिएको अनधिकृत रकमको व्यवस्थापन र बाँडफाँडको विषयमा कर्मचारीबीच मतभेद बढेपछि आरोप–प्रत्यारोप सुरु भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार ट्रायल प्रक्रियामा नियमविपरीत अनुत्तीर्ण हुने केही उम्मेदवारलाई समेत उत्तीर्ण गराइएको तथा त्यसबाट ठूलो रकम सङ्कलन भएको आरोप छ। रकम बाँडफाँडको विषयमा असन्तुष्टि बढेपछि कार्यालयभित्रको विवाद बाहिरिएको बताइएको छ। यद्यपि, यी आरोपको आधिकारिक पुष्टि भने भएको छैन।

यस प्रकरणमा तत्कालीन जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, यातायात व्यवस्था कार्यालयका प्रमुख कुलेश्वर साह तथा ट्रायल प्रमुख रामसुन्दर महतोको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। सम्बन्धित अधिकारीहरूले भने आरोपबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

यस्तै, हेभी सवारीको ट्रायल नियमित स्थानमा नगरी वीरगंजको राधेमाईस्थित सामा कन्स्ट्रक्शनको कम्पाउन्डमा गोप्य रूपमा सञ्चालन गरिएको आरोपसमेत लागेको छ। सामा कन्स्ट्रक्शनका सञ्चालक जहुर आलमले भने प्रहरी र यातायात कार्यालयका कर्मचारीहरूको अनुरोधमा ट्रायलका लागि आफ्नो कम्पाउन्ड उपलब्ध गराएको बताएका छन्।

घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न कर्मचारी तथा सरोकारवालाले सम्बन्धित निकायसँग माग गरेका छन्।

सम्बन्धित पोस्टहरुः