रौतहट, १४ असार ।
बागमती नदीमा नुहाउने क्रममा आइतवार दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गढीमाई नगरपालिका–१ को समनपुर–हरैया घाटमा दिउँसो करिब तीन बजे दुवै जना बालक नुहाइरहेका बेला अचानक नदीमा डुबेका थिए ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी सहायक निरीक्षक (सई) मुना पासवानको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर खोज तथा उद्धार अभियान शुरू गरेको थियो । खोजीका क्रममा अनिकेशको शव फेला परेको थियो ।
सुरक्षाकर्मीहरूको निरन्तर खोजी अभियानकै क्रममा अपराह्न ३ः५४ बजे घटनास्थलबाट करिब ५० मिटर दक्षिणतर्पm बागमती नदीमै आदित्यको पनि शव फेला परेको इलाका प्रहरी कार्यालय गरूडाले जनाएको छ ।
हाल दुवै बालकको शव आवश्यक मुचुल्का तथा पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको छ भने घटनावारे थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।






