जेष्ठ नागरिक संघ पर्साद्वारा दही-चिउरा कार्यक्रम

1200x150_1200x150-01.jpg (1)

​वीरगन्ज, १५ असार – जेष्ठ नागरिक संघ पर्साको आयोजनामा वीरगन्जमा २३ औँ राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। “जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ यस वर्षको धान दिवस मनाइएको हो।

​कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले कृषि क्षेत्रको विकास र धान उत्पादनमा आधुनिक एवं जलवायु मैत्री प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँले महानगरपालिका नगरका किसानहरूलाई प्रोत्साहन गर्न र कृषि उत्पादकत्व बढाउन सधैं तत्पर रहेको धारणा राख्नुभयो।
​त्यसैगरी, महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहराले जलवायु परिवर्तनको वर्तमान चुनौतीलाई चिर्न अनुकूलित प्रविधिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।

​कृषि र समाजको अन्तरसम्बन्धमाथि प्रकाश पार्दै प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश प्रसाद शर्माले हाम्रा परम्परागत चाडपर्व र कृषिको महत्वलाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रमले ऊर्जा दिने उल्लेख गर्नुभयो। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले कृषि क्षेत्रको व्यावसायिकरण र स्वदेशी उत्पादनको प्रवर्द्धनले मात्र आर्थिक समृद्धि सम्भव हुने विचार व्यक्त गर्नुभयो।

​असार १५ लाई नेपाली समाजमा धान रोपाईंको उत्सव र दही चिउरा खाने विशेष पर्वका रूपमा लिइन्छ। जेष्ठ नागरिकहरूको अनुभव र नयाँ प्रविधिको संयोजनबाट कृषिमा देशलाई आत्मनिर्भर बनाउन सकिने सन्देश यस कार्यक्रमले दिएको छ।

​कार्यक्रममा जेष्ठ नागरिक समाजका अगुवा, स्थानीय बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा दही चिउरा खाएर एकापसमा शुभकामना आदानप्रदान गर्दै दिवस मनाएका थिए।

सम्बन्धित पोस्टहरुः