वीरगंज, असार १५ —
राष्ट्रपति रामचन्द्र पौडेलले धान उत्पादनमा आत्मनिर्भर बन्न कृषिको आधुनिकीकरण, व्यावसायीकरण र बाँझो जमिनको उपयोगमा जोड दिएका छन्।
२३ औँ राष्ट्रिय धान दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले कृषिलाई सम्मानित र आकर्षक पेसाका रूपमा विकास गर्न सके युवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिलाउन तथा धान–चामलको आयात घटाउन सकिने उल्लेख गरेका छन्।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले धानखेतीमा चुनौती थपिएकाले जलवायुमैत्री प्रविधिको प्रयोग, सिँचाइ सुविधाको विस्तार र कृषि क्षेत्रमा आवश्यक नीति तथा पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन्। यस वर्ष राष्ट्रिय धान दिवस ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ मनाइँदै छ।







