वीरगंज, असार १५ —
पर्सा प्रहरीले वीरगंज महानगरपालिका–२४ रमगढवाबाट बन्धक बनाइएकी एक भारतीय युवतीको उद्धार गरेको छ। घटनामा संलग्न भनिएका युवक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भारतको बिहार राज्य मोतिहारीकी अन्दाजी २५ वर्षीया निमुत कुमारीलाई छपरा निवासी अन्दाजी २५ वर्षीय चन्दन कुमारले गत अप्रिल २ देखि जबरजस्ती राखेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको थियो।
युवतीले आफ्ना बुबालाई मोबाइलमार्फत आफू बन्धकमा रहेको जानकारी दिएपछि ‘आफन्त नेपाल’ र स्थानीयको समन्वयमा प्रहरी टोलीले आइतबार बिहान रमगढवास्थित एक घरबाट उनको सकुशल उद्धार गरेको हो।
उद्धारपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी युवतीलाई ‘आफन्त नेपाल’को जिम्मा लगाइएको प्रहरीले जनाएको छ। फरार रहेका चन्दन कुमारको खोजी तीव्र पारिएको र पक्राउपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।







