वीरगंज, असार १७ —
वीरगंजको सडकमा साइकलमा आँप बेच्दै आएका एक भारतीय नागरिकलाई ठूलो परिमाणमा ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया थाना अन्तर्गत गोपालपुर ग्राम पञ्चायत–२ निवासी ३० वर्षीय गुड्डु आलम रहेका छन्। उनी हाल वीरगंज महानगरपालिका–८ मा डेरा गरी बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार वीरगंज–९ स्थित सडकपेटीमा आँप बेच्दै लागूऔषधसमेत बिक्री भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुबेदीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले आलमको साइकल खानतलासी गर्दा पछाडिको चक्कानजिक प्लास्टिकको बोराभित्र लुकाएर राखिएको २७ ग्राम २९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। बरामद लागूऔषधसहित आलमलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






