वीरगंज, १६ असार ।
वीरगंज महानगरपालिकाले बालबालिका र सर्वसाधारणको मनोरञ्जनका लागि निर्माण गरिएको पार्कभित्र संचालित होटलमा आकस्मिक छापा मारी ठूलो परिमाणमा अवैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद गरेको छ।
बुधवार महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको विशेष निर्देशनमा वडा नम्बर ४ स्थित चिल्ड्रेन पार्क (शंखधर साख्वापार्क) भित्र संचालित दियास हस्पिटालिटी प्रालिमा महानगरको अनुगमन टोलीले छापा मारेको हो।
नगर प्रहरी, महानगरको अनुगमन टोली र स्थानीय साक्षीहरूको रोहबरमा उक्त क्याफे–होटलको स्टोरमा खानतलासी गरिएको थियो।
दिपिका क्षेत्री प्रोप्राइटर रहेको उक्त फर्मको स्टोरमा लुकाइराखेको अवस्थामा ४६ प्याकेट सूर्य चुरोट, ७० प्याकेट शिखर चुरोट, ८ थान हुक्का स्ट्यान्ड र १७ प्याकेट विभिन्न फ्लेवरका हुक्का तथा सुर्तीजन्य पदार्थहरू फेला परेपछि टोलीले तिनलाई नियन्त्रणमा लिएको छ।
पार्कभित्रै सुर्तीजन्य पदार्थ र हुक्का फेला परेको वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले बताए । पार्कजस्तो संवेदनशील क्षेत्रमा यस्ता गतिविधि हुनु निन्दनीय भएको बताउँदै कार्यवाहक प्रमुख आलमले बालबालिकाहरूको स्वास्थ्य र उनीहरूकै मनोरञ्जनका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कभित्र यस्ता अवैध र घातक पदार्थहरूको कारोवार हुनु सह्य नभएको उल्लेख गरे। उनले बालबालिकाको भविष्य र स्वास्थ्यमाथि खेलबाड गर्ने जुनसुकै व्यवसाय वा व्यक्तिलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरिने दृढता समेत व्यक्त गरे ।
महानगरपालिकाका अधिकृत तथा नगर प्रहरी टोलीले उक्त सामग्रीहरू जफत गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ।
अनुगमन टोलीका अनुसार उक्त व्यवसायको दर्ता र नवीकरणको स्थिति ठीक रहेको पाइए तापनि प्रतिबन्धित एवं सार्वजनिक पार्क क्षेत्रभित्र सुर्तीजन्य र हुक्काजन्य पदार्थ भण्डारण तथा बिक्री–वितरण गरेको पाइएकाले कानुनी घेरामा ल्याइएको हो। महानगरपालिकाले आगामी दिनमा पनि पार्क, विद्यालय तथा सार्वजनिक क्षेत्र वरपर हुने यस्ता गैरकानुनी गतिविधि रोक्न बजार अनुगमनलाई थप तीव्र र निर्मम बनाउने प्रतिबद्धता जनाएको छ।






