वीरगंज, असार १८ —
सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामले जिल्ला अदालत महोत्तरीको फैसला आंशिक रूपमा उल्ट्याउँदै पूर्व सांसद लक्ष्मी महतो (कोइरी)सहित ६ जनालाई पाँच वर्ष कैद सजाय सुनाएको छ।
कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार उक्त फैसला सुनाएको हो। जिल्ला अदालतबाट सफाइ पाएका लक्ष्मी महतो र पवन कापरलाई दोषी ठहर गर्दै जनही पाँच वर्ष कैद सुनाइएको छ।
यस्तै, जिल्ला अदालतबाट जन्मकैद सजाय पाएका निलम्बित लोसपा प्रदेश सांसद अभिराम शर्मा, जलेश्वरका पूर्वमेयर रामशंकर मिश्र, धर्मेन्द्र राय र सुरेश पाण्डेको सजाय पनि घटाएर पाँच वर्ष कायम गरिएको छ।
यद्यपि, घटनाका मुख्य अभियुक्त प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जिल्ला अदालतले सुनाएको जन्मकैदको सजाय उच्च अदालतले यथावत् राखेको छ।
असई थमन विकको २०७२ सालको मधेस आन्दोलनका क्रममा महोत्तरीमा आन्दोलनकारीको आक्रमणबाट मृत्यु भएको थियो।







