वीरगंज, असार १८ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले काठमाडौँस्थित निवासमा भेट गरी उद्योग–व्यवसाय क्षेत्रका समसामयिक समस्या र समाधानका उपायबारे छलफल गरेका छन्।
पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तको समन्वयमा भएको भेटमा सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी, भन्सार दर असन्तुलन, उधारो कानुन, प्रतिबन्धित वस्तुको आयात तथा औद्योगिक पूर्वाधार विकासका विषयमा ध्यानाकर्षण गराइएको थियो।
उद्योगी–व्यवसायीहरूले तस्करी नियन्त्रणका लागि भारतको जीएसटी दरसँग मिल्ने गरी करिब एक सय वस्तुको भन्सार दर पुनरावलोकन गर्न, पूजा सुपारी, छोकडा र कालो मरीचको आयात खुला गर्न तथा जितपुरसिमरा विशेष आर्थिक क्षेत्र, वीरगंज ड्राइपोर्ट र मुख्य सडक निर्माणलाई गति दिन माग गरेका थिए।
जवाफमा सभापति लामिछानेले निजी क्षेत्रका समस्या समाधानका लागि आफू र पार्टी सकारात्मक रहेको बताउँदै तस्करी नियन्त्रण, राजस्व प्रणाली सुधार तथा उद्योगमैत्री वातावरण निर्माणका विषयमा सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।







