वीरगंज, असार १८ —
वीरगंजको तराई अस्पतालमा उपचाररत सुत्केरी महिलाको मृत्यु भएपछि आक्रोशित बनेका उनका परिवार र अस्पतालबीच समझदारी भएको छ।
गत सोमबार असार १५ गते साँझ ७:३० बजे बाराको बिसरामपुर गाउँपालिका–५, नकटुवाकी ३० वर्षीया इन्दु देवी उपचारका लागि तराई अस्पतालमा भर्ना भएकी थिइन्।
उपचारकै क्रममा बुधबार बिहान उनको मृत्यु भएपछि आक्रोशित आफन्त तथा परिवारले अस्पतालको लापरवाही भएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए।
बुधबार साँझ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अस्पताल प्रशासन र मृतकका परिवारबीच मौखिक सहमति भएको छ। सहमतिपछि मृतकका परिवारले इन्दुको शव बुझ्न तयार भएका छन्। सहमतिअनुसार अस्पतालले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने मौखिक सहमति भएको छ। यद्यपि, त्यससम्बन्धी लिखित निर्णय भने भइसकेको छैन।
घटनाको विवरण
सोमबार साँझ सुत्केरी व्यथा लागेपछि इन्दु देवी उपचारका लागि स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तर्नुम खातुनको वीरगंजस्थित क्लिनिकमा पुगेकी थिइन्। त्यसपछि डा. खातुनकै परामर्शमा उनी तराई अस्पतालमा भर्ना भएकी थिइन्।
मंगलबार बिहान ३:४५ बजे इन्दु देवीले सामान्य प्रसूतिमार्फत छोरीलाई जन्म दिएकी थिइन्।
त्यसपश्चात अत्यधिक रक्तस्रावका कारण इन्दुको अवस्था नाजुक बन्दै गएपछि उनलाई आईसीयू हुँदै भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पताल पक्षले जनाएको थियो। तर, इन्दुका पति चन्दन साहसहित परिवारका सदस्यले इन्दुको मृत्यु भइसकेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए।
परिवारले अस्पतालले सहयोगीहरूको भरमा मात्रै उपचार गरेको र चिकित्सकको लापरवाहीका कारण इन्दुको मृत्यु भएको आरोप मंगलबार बिहानदेखि नै लगाउँदै आएका थिए।
तर अस्पताल प्रशासन र डा. तर्नुम खातुनले इन्दुको मृत्यु नभएको तथा भेन्टिलेटरमा राखेर उपचार भइरहेको दाबी गर्दै आएका थिए। डा. खातुनले रगतमा हेमोग्लोबिन र प्लेटलेट्सको मात्रा कम हुनुका साथै प्रसूतिको क्रममा आन्तरिक चोट (इन्टरनल इन्जुरी) लागेर अत्यधिक रक्तस्राव भएकाले अवस्था चिन्ताजनक बनेको बताएकी थिइन्। उनले ७२ घण्टापछि मात्रै वास्तविक अवस्थाबारे केही भन्न सकिने बताएकी थिइन्।
यसबीच इन्दुको परिवारले भने उनको मृत्यु भइसकेको भए पनि घटनालाई ढाकछोप गर्न चिकित्सकहरूले भेन्टिलेटरमा राखेको आरोप सार्वजनिक रूपमा लगाउँदै आएका थिए। उनीहरूले अस्पतालको बिल बढाउन मृतक इन्दुलाई जबर्जस्ती भेन्टिलेटरमा राखिएको दाबी गरेका थिए।
अन्ततः अस्पतालले बुधबार बिहान इन्दुको मृत्यु भएको घोषणा गर्दै शव बुझ्न आग्रह गर्यो। तर इन्दुका पति चन्दन साहसहित परिवारका सदस्य र आफन्तले न्यायको माग गर्दै शव बुझ्न अस्वीकार गरेका थिए। उनीहरूले अस्पतालविरुद्ध प्रदर्शनसमेत गरेका थिए।
पछि बुधबार साँझ स्थानीय प्रशासन, प्रहरी, अस्पताल प्रशासन र मृतक इन्दुको परिवारबीच मौखिक समझदारी भएपछि परिवार शव बुझ्न तयार भएको छ।







