वीरगंज, असार १८ –
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीमा मोबाइल चोरीको आरोपमा चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ।
मंगलबार बिहान सार्वजनिक चौतारास्थित बरको रुखमा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो। उजुरीका आधारमा प्रहरीले टाँगिया बस्तीकी ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानीमाया मोक्तान र ४२ वर्षीया निर्मला वाइबालाई बुधबार नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।
प्रहरीले कानुन हातमा लिएर कुनै पनि व्यक्तिमाथि कुटपिट वा दुर्व्यवहार नगर्न सर्वसाधारणलाई आग्रह गर्दै यस्ता घटनामा संलग्न हुनेमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ।






