राधेश्याम पटेल, वीरगंज, १८ असार-
श्रम तथा रोजगार कार्यालय श्रीपुर,वीरगंजले नारायणी बयोधा हस्पिटलमा अनुगमन गरेको छ ।
वीरगंज–२३ प्रसौनीविर्ता(गण्डक नजिक) मा विगत ७ वर्षदेखि सञ्चालित हस्पिटललाई हाल नेपाल मेडिसिटी बयोधा हस्पिटलको रुपमा नामाकरण गरिएको छ । स्वास्थ्य उपचार सेवामुलक उद्योगको रुपमा हेरिएको उक्त हस्पिटलमा श्रमिकहरुको सेवा सुविधा वा श्रम ऐन पालना भएको वा नभएको बारेमा श्रम तथा रोजगार मन्त्रालयको माथिल्लो निर्देशन अनुसार आज विहान ११ बजेदेखि १ बजे सम्म देशभरका १० वटा निजि अस्पतालमा एकै साथ अनुगमन गरि विविध पक्षको बारेमा जानकारी लिइएको जनाइएको छ ।
श्रम तथा रोजगार कार्यालय वीरगंजका कार्यालय प्रमुख कारखाना निरीक्षक बलराम कुशवाहाका अनुसार आजको अनुगमनबाट सो हस्पिटलमा गरिएको अनुगमनमा अधिकांश नीति नियम सन्तोषजनक देखिएको र केही बुँदामा नियम पालनाको लागि निर्देशन समेत दिइएको छ । सो रमेश अग्रवाल सञ्चालक समितिको अध्यक्ष रहेको सो हस्पिटलमा हस्पिटलमार्फत चिकित्सक,नर्स,स्वास्थ्यकर्मी,कर्मचारीलगायत गरी १३६ जना,७ जना गार्ड,क्यान्टिन र ल्याबका कर्मचारी गरी कुल १५१ जना रोजगार रहेको बुझिएको छ । श्रम ऐन पालना गर्न गठन गर्नेु पर्ने केही समिति र समाजिक सुरक्षा कोष कट्टी रकम पनि समयमै कोषमा दाखिला गर्न समेत निर्देशन दिइएको छ ।
अनुगमनको सयममा हस्पिटलकी मानव संशाधन प्रबन्धक रेनुका आर्चाय,लेखापाल सतीश मल्लिक,श्रम कार्यालयका कर्मचारी,सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।








