वीरगंज, असार १९ –
वीरगंजमा सडक सीमा संरक्षण अभियानलाई पुनः तीव्र पार्दै सडक विभाग डिभिजन कार्यालय हेटौंडाले शुक्रबारदेखि गण्डक क्षेत्रबाट फेरि डोजर परिचालन गरेको छ।
सडक विभागका अनुसार यसअघि भत्काइएका सडक सीमाभित्रका संरचना र निर्माण सामग्री सम्बन्धित पक्षले नहटाएकाले पुनः सफाइ अभियान सञ्चालन गरिएको हो। आज विशेषगरी बिजुलीको लाइन विच्छेद भइसकेका घर तथा संरचनालाई पूर्ण रूपमा हटाउने काम भइरहेको विभागले जनाएको छ।
सर्वोच्च अदालतको आदेशअनुसार मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराई सडक फराकिलो बनाउने योजनाअन्तर्गत अतिक्रमण हटाउने अभियान जारी रहेको विभागले जनाएको छ। साथै सडक सीमाभित्रका संरचना तत्काल खाली गर्न अन्यथा कानुनअनुसार हटाइने चेतावनी पनि दिएको छ।







