वीरगंज, असार २० –
युथलिङ्क वीरगंजको आयोजना तथा पर्सा जिल्ला बुद्धीचाल संघको सहकार्यमा दुईदिने पर्सा चेस च्याम्पियनसिप शनिबारदेखि वीरगंजस्थित बीपीसी कलेजमा सुरु भएको छ।
प्रतियोगितामा पर्सा जिल्लाका करिब १०० जना खेलाडी सहभागी छन्। प्रतियोगिताको उद्घाटन पर्सा जिल्ला बुद्धीचाल संघका अध्यक्ष शुल्भ केसीले गरेका थिए।
स्विस लिग प्रणालीअनुसार सञ्चालन हुने प्रतियोगितामा कुल सात चरणका खेल हुनेछन्। पहिलो दिन चार चरण र दोस्रो दिन तीन चरणका खेल सम्पन्न भएपछि विजेताको टुंगो लाग्ने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य पर्सा जिल्लामा बुद्धीचाल खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नु हो। उत्कृष्ट खेलाडीलाई आगामी प्रदेश तथा राष्ट्रियस्तरीय प्रतियोगितामा सहभागी हुन प्रोत्साहन गरिने जनाइएको छ।







