भिस्वा सीमा नाकामा आन्दोलन

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २० असार ।
पर्साको छिपहरमाई गाउँपालिका–स्थित भिस्वा सीमा नाकामा भारतीय सवारी साधनको आवागमन सहज बनाउन माग गर्दै स्थानीयवासीले शनिवार देखि आन्दोलन शुरू गरेका छन।
स्थानीयहरूले बिहानैदेखि भिस्वा बोर्डरमा तिर्पाल टाँगेर धर्ना दिँदै नेपाल सरकारसँग भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमनमा सहजीकरण गर्न तथा सानो भन्सार (छोटी भन्सार) सञ्चालन गर्न माग गरेका छन। भारतबाट मोटरसाइकल वा चारपांग्रे सवारी साधन लिएर आफ्ना आफन्त वा नातेदारको घरमा आउँदा नेपाली सशस्त्र प्रहरी र नेपाल प्रहरीले सवारी रोक्ने, सोधपुछ गर्ने तथा विभिन्न प्रशासनिक झन्झट सिर्जना गर्ने गरेको र यसले सीमावर्ती क्षेत्रका बासिन्दालाई दैनिक आवागमनमा कठिनाइ भएको उनीहरूको गुनासो छ।
आन्दोलनको जानकारी पाएपछि नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक राजु कार्की तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थल पुगेर स्थानीयसँग छलफल गरेको थियो। छलफलका क्रममा सुरक्षा निकायका अधिकारीहरूले नेपालको प्रचलित कानुनअनुसार मात्रै काम गर्न सकिने बताएका थिए।
स्थानीयले आफ्नो मागवारे ठोस प्रतिबद्धता नआएको भन्दै छलफल निष्कर्षविहीन बनेको बताएका छन। आन्दोलनरत स्थानीय अपमान मियाँ अनुसार समस्या समाधानका लागि कुनै सहमति हुन नसकेपछि आन्दोलनलाई निरन्तरता दिइने र आवश्यक परे अझ सशक्त बनाइनेछ।

भर्खरै

सम्बन्धित पोस्टहरुः