वीरगंज, असार २० –
प्रतिनिधिसभाबाट पारित प्रतिनिधिसभा नियमावलीका केही प्रावधान संविधानविपरीत रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ।
कांग्रेस सभापति गगन थापाले शुक्रबार वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायीसँग छलफल गरेपछि नियमावलीविरुद्ध रिट दायर गर्ने निर्णय भएको हो। छलफलमा उपसभापति पुष्पा भुसाल, महामन्त्री गुरुराज घिमिरे, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक बासना थापालगायत सहभागी थिए।
कांग्रेसले संविधान संशोधनको प्रक्रिया, फौजदारी बाहेकका अभियोगमा सांसदलाई कानुनी कारबाहीबाट जोगाउने व्यवस्था, राष्ट्रिय सभाको अधिकार कटौती तथा ‘बाधा अड्काउ’ सम्बन्धी प्रावधान संविधानसँग बाझिएको दाबी गरेको छ।
रिट तयार गर्ने जिम्मेवारी वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरिहर दाहाल, राजु कटुवाललगायतलाई दिइएको छ। कांग्रेसले सोमबार वा मंगलबार सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेको जनाएको छ।
विपक्षी दलको विरोधका बीच जेठ १७ गते राति बहुमतका आधारमा प्रतिनिधिसभा नियमावली पारित गरिएको थियो। त्यसयता कांग्रेसले उक्त नियमावली संविधानको भावना र संसदीय अभ्यासविपरीत रहेको भन्दै निरन्तर विरोध गर्दै आएको छ।






