वीरगंज, असार २२ –
अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाले महानगरभित्रका सबै विद्यालयको पठनपाठन समय दुई दिनका लागि परिवर्तन गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै असार २२ र २३ गते सबै विद्यालयमा बिहान ६:०० बजेदेखि ९:३० बजेसम्म मात्र कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।
शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार चर्किंदो गर्मी र बढ्दो तापक्रमका कारण विद्यार्थीको स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै कक्षा सञ्चालन समय परिवर्तन गरिएको हो।
महानगरले सबै विद्यालयलाई उक्त निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ। यद्यपि पठनपाठन अवधि छोट्याइएपछि विद्यालय र विद्यार्थीमा निर्धारित समयमा पाठ्यक्रम पूरा गर्ने चुनौती थपिएको छ।






