वीरगंज, असार २२ –
फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ गोलले पराजित गर्दै इतिहासमै पहिलोपटक क्वार्टरफाइनलमा स्थान बनाएको छ।
अमेरिकाको मेटलाइफ स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालाण्डले दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। ब्राजिलका लागि खेलको इन्जुरी समयमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन।
खेलको सुरुआतमै ब्राजिलले पेनाल्टीको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। त्यसपछि नर्वेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो। हालाण्डको यो प्रदर्शनसँगै उनी प्रतियोगिताको गोल्डेन बुट दौडमा पनि शीर्ष स्थानमा पुगेका छन्।
यो जितसँगै नर्वे पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो। अब नर्वेले क्वार्टरफाइनलमा मेक्सिको र इङ्ग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यता ब्राजिल भने सन् १९९० पछि पहिलोपटक विश्वकपको अन्तिम–१६ चरणबाटै बाहिरिएको छ।






