यात्रु तानातानमा अटोचालकबीच झडप, एक जनाको कान चुँडियो

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २१ –

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरस्थित टेढा रोड क्षेत्रमा यात्रु तानातान गर्ने क्रममा दुई अटोचालकबीच भएको झडपमा एक चालक गम्भीर घाइते भएका छन्।

आइतबार भएको घटनामा अटो चालक गोविन्द बस्नेतको एउटा कान चुँडिएको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार सडक किनारमा यात्रु कुरिरहेका अटोचालकहरूबीच यात्रु चढाउने विषयमा सुरु भएको सामान्य विवाद उग्र बन्दै कुटाकुटमा परिणत भएको थियो। सोही क्रममा अर्का अटो चालक रामबहादुर श्रेष्ठले धकेल्दा बस्नेत मोटरसाइकलमा ठोक्किएका थिए। मोटरसाइकलको तीखो भागमा कान लाग्दा उनको एउटा कान चुँडिएको र शरीरभरि रगत बगेको बताइएको छ। घाइते बस्नेतलाई उपचारका लागि अस्पताल पठाइएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले दुवै अटोचालकलाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न दुवै अटोसमेत प्रहरी नियन्त्रणमा राखिएको र घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
उक्त अटोहरू जीतपुरको टेढा रोडदेखि पर्सा जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा यात्रु सेवा सञ्चालन गर्दै आएका छन्।

स्थानीयवासीका अनुसार जीतपुर क्षेत्रमा लामो समयदेखि बस, म्याजिक र अटोचालकहरूबीच यात्रु तानातान गर्ने, तोकिएको पार्किङ क्षेत्रबाहिर सवारी रोक्ने तथा ट्राफिक नियम पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ। यसका कारण बेला–बेलामा विवाद, झडप र दुर्घटनासमेत हुने गरेको उनीहरूको भनाइ छ।

स्थानीयले सम्बन्धित निकायलाई अटो सञ्चालनमा कडाइ गर्न, तोकिएको स्थानबाट मात्रै यात्रु चढाउने व्यवस्था लागू गर्न तथा चालकहरूलाई अनुशासित बनाउन प्रभावकारी अनुगमन गर्न माग गरेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः