बारा, २२ असार । नयाँ प्रणालीमा आबद्ध हुनका लागि तीन दिनका लागि राहदानी सेवा बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
कार्यालयका प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादवले सोमबार एक सूचना जारी गर्दै राहदानी विभागको निर्देशन अनुसार हालको प्रणालीबाट नयाँ प्रणालीमा स्थानान्तरण गर्नुपर्ने भएकाले सेवा स्थगित गर्नुपरेको जानकारी दिएका छन्।
राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारीस्वरूप असार २९ गते मा नयाँ प्रणाली लागू गर्न लागेको हुनाले जिल्ला प्रशासन कार्यालय बाराबाट प्रदान गरिने सम्पूर्ण राहदानी सेवाहरू आगामी असार २४ गतेदेखि २६ गतेसम्म तीन दिनका लागि पूर्ण रूपमा बन्द रहने सूचनामा उल्लेख छ।
कार्यालयका अनुसार आगामी असार २९ गते देखि नयाँ प्रणालीमार्फत राहदानी सेवा पुनः नियमित रूपमा सुचारु गरिनेछ। यसअघि नै टोकन प्राप्त गरिसकेका सेवाग्राहीहरूका हकमा भने नयाँ प्रणालीमार्फत पुनः फाराम भरी जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।






