वीरगंजका क्यासिनोमा प्रहरीकै मिलेमतोमा नेपाली प्रवेश : सांसद पन्त

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २३ –

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले गृह जिल्ला पर्साको प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाउँदै वीरगंजका क्यासिनोमा प्रहरी प्रशासनकै मिलेमतोमा नेपाली नागरिकलाई गैरकानुनी रूपमा प्रवेश गराएर जुवा खेलाउने काम भइरहेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पन्तले वीरगंजका अधिकांश तारे होटलमा सञ्चालन भइरहेका क्यासिनो भारतीय पर्यटकलाई लक्षित गरी सञ्चालनमा रहे पनि प्रहरी प्रशासनकै संरक्षणमा नेपालीहरूलाई समेत प्रवेश गराएर जुवा खेलाउने गरिएको जनगुनासो बढ्दै गएको बताए।

उनले क्यासिनोको लतका कारण व्यवसायी, युवा उद्यमी, विभिन्न पेशाकर्मी तथा मध्यमवर्गीय परिवारका सदस्यहरू आर्थिक र सामाजिक रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै धेरैले आफ्नो सम्पत्ति गुमाएको र पारिवारिक सम्बन्धसमेत बिग्रिएको अवस्था रहेको बताए।

सांसद पन्तले वीरगंजका क्यासिनोमा नेपाली नागरिकको प्रवेश पूर्ण रूपमा रोक्न तथा यसमा संलग्न देखिए प्रहरी प्रशासनमाथिसमेत कारबाही गर्न सरकारसँग माग गरे।

त्यस्तै, वीरगंज नाका हुँदै भारततर्फ जाने मालवाहक सवारीसाधनबाट ठूलो परिमाणमा गाँजा, चरेसलगायत लागूऔषध बरामद भइरहँदा पर्सा प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको उनको भनाइ थियो। उनले वीरगञ्ज नाकाबाट भइरहेको लागूऔषध तथा अन्य वस्तुको तस्करी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।

सम्बन्धित पोस्टहरुः