ट्रम्पको फोन पछि बालोगुनमाथिको प्रतिबन्ध फुकुवा, अमेरिकालाई राहत

1200x150_1200x150-01.jpg (1)

पर्सा , असार २३ –
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकी खेलाडी फोलारिन बालोगुनमाथि लगाइएको एक खेलको प्रतिबन्ध फुकुवा गरेको छ। यससँगै उनी विश्वकपको प्रिक्वाटरफाइनलमा बेल्जियमविरुद्ध खेल्न पाउने भएका छन्।

बालोगुनले बोस्निया एन्ड हर्जगोभिनाविरुद्धको खेलमा रातो कार्ड पाएका थिए। तर फिफाले प्रतिबन्ध स्थगित गरेपछि उनी टोलीमा फर्किएका हुन्। अमेरिका र बेल्जियमबीचको प्रिक्वाटरफाइनल खेल भोलि बिहान अमेरिकाको सिएटलमा हुनेछ।

प्रतिबन्ध फुकुवा भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफालाई धन्यवाद दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत फिफाले सही निर्णय गरेर अन्याय सच्याएको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरी रातो कार्डको निर्णय पुनरावलोकन गर्न आग्रह गरेका थिए।

यता बेल्जियम फुटबल सङ्घले भने फिफाको निर्णयप्रति असन्तुष्टि जनाएको छ। प्रतियोगिताको नियमअनुसार रातो कार्ड पाउने खेलाडी स्वतः अर्को खेलबाट निलम्बित हुने व्यवस्था रहेकाले अनुशासन समितिको निर्णयले नियमलाई कमजोर बनाएको उसको भनाइ छ।

फिफाको निर्णयपछि विश्वकपमा राजनीतिक हस्तक्षेप भएको भन्दै बहस सुरु भएको छ। यद्यपि विश्वकप इतिहासमा यस्तो विवाद पहिलो पटक भने होइन। सन् १९६२ को विश्वकपमा पनि ब्राजिलका गारिन्चाको रातो कार्डपछि प्रतिबन्ध हटाइएको निर्णय विवादमा परेको थियो।

सम्बन्धित पोस्टहरुः