वीरगंज, असार २३ —
गहवा माई तीर्थ क्षेत्र विकास समितिले आगामी असार ३२ गते हुने चौथो विशाल गहवा माई रथयात्रालाई लक्षित गर्दै तयार गरिएको भजन ‘सोनवा के रथ गहवा माई के’ को डिजिटल भिडियो सार्वजनिक गरेको छ।
माईस्थान मन्दिर परिसरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको भजनमा गायक चन्दन पण्डितले स्वर दिएका छन्। आयोजकका अनुसार भजनले गहवा माईको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई व्यापक रूपमा प्रचार–प्रसार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
समितिका अध्यक्ष श्याम पोखरेलको अध्यक्षता तथा समाजसेवी प्रकाश उपाध्यायको प्रमुख आतित्थ्यतामा सम्पन्न भजन विमोचन कार्यक्रममा रथयात्रा संयोजक वसन्त कुमार गुप्ता, समितिका सचिव लक्ष्मीनारायण गुप्ता लगायत समितिका पदाधिकारी, तथा श्रद्धालु भक्तजनको उपस्थिति रहेको थियो।
समितिले सबै भक्तजनलाई भजन हेर्न, सुन्न तथा सामाजिक सञ्जालमार्फत साझा गरेर गहवा माईको धार्मिक महिमा फैलाउन आग्रह गरेको छ।
समितिका अनुसार आगामी असार ३२ गते आयोजना हुने चौथो विशाल गहवा माई रथयात्रामा हजारौँ श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको छ।







