रौतहटमा कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

रौतहट, असार २३ —

रौतहटको गरुडा नगरपालिकाबाट प्रहरीले कटुवा पेस्तोल, गोली र नगदसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका–९ बिर्ता निवासी ४२ वर्षीय सदरे आलम रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार असार २२ गते गरुडा नगरपालिका–५ स्थित झाझपुलमा रहेको एक मदिरा पसलमा शंकास्पद अवस्थामा रहेका आलमको खानतलासी गर्दा कम्मरमा भिरेको अवस्थामा एक राउण्ड गोली लोड गरिएको कटुवा पेस्तोल बरामद भएको थियो।

थप अनुसन्धानका क्रममा आलमको बयानका आधारमा मदिरा पसल पछाडिको खेतमा रहेको झ्याङबाट कटुवा पेस्तोलमा प्रयोग हुने ४ थान लाइभ राउण्ड गोली, १ थान ब्ल्याङ्क राउण्ड, २४ हजार ५ सय भारतीय रुपैयाँ, ३२ हजार ५ सय नेपाली रुपैयाँ तथा २ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धानका साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सम्बन्धित पोस्टहरुः