वीरगंज, असार २३ —
बेल्जियमले आयोजक अमेरिका माथि ४–१ को प्रभावशाली जित निकाल्दै फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनलमा स्थान बनाएको छ।
सियाटल स्टेडियममा आज बिहान भएको खेलमा बेल्जियमका लागि चार्ल्स डे केटलेरले नवौँ र ३३औँ मिनेटमा दुई गोल गरे। हान्स भानाकेनले ५७औँ मिनेटमा अर्को गोल थप्दा इन्जुरी समयमा रोमेलु लुकाकुले चौथो गोल गर्दै जित सुनिश्चित गरे। अमेरिकाका लागि मलिक टिलम्यानले ३१औँ मिनेटमा फ्रिकिकमार्फत एक गोल फर्काए।
यस हारसँगै आयोजक अमेरिका विश्वकपबाट बाहिरिएको छ। यसअघि सहआयोजक क्यानडा र मेक्सिको पनि अन्तिम–१६ बाटै बाहिरिसकेका छन्।
अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।







